पर्यटन क्षेत्रमा पेशा-जीवनवृत्ति अवसर

पर्यटन आफ्नो वासस्थान छाडेर छोटो समयको लागि अन्यत्रै गई व्यवसायिक सेवा दिने संस्थाहरुको प्रयोग गरी गरिने घुमघाम लगाएत विविध गतिविधिहरु जस्तै साहसिक कार्यहरु -खेलहरु, आरामदायी बसाई, मनोरंजन लिनु हो । हालैका दिनहरुमा पर्यटनका प्रकारहरु र आयामहरू धेरै बढेर गैरहेका छन् । खेल, मनोरंजन, बिलासिता, कृषि, स्वास्थ्य-आरोग्य, शिक्षा, प्रकृति संरक्षण र रसास्वादन जस्ता सवै अवयवहरूमा पर्यटनको घुलमिल भैरहेको छ । यसैले पर्यटनको दायरा निकै फराकिलो हुदै गैरहेको अवस्था छ ।

राणाहरुको शासनकाल वखत विदेशीको लागि नेपाल भ्रमण बन्द जस्तै थियो । वि. सं. २००७ साल (सन् १९५१) को प्रजातान्त्रिक परिवर्तन पश्चात नेपाल विदेशीको लागि खुल्ला गरियो र यस संग संगै सन् १९५० मा फ्रेन्च टोलीले  अन्नपुर्ण प्रथम (I) (८०९१ मि) को र सन् १९५३ मा तेञ्जिङ्ग नोर्गे तथा एडमण्ड हिलारीले सगरमाथाको आरोहण सफलतापुर्वक गरेपछि पर्यटनको व्यवसायिक सुरुवात भयो । सन् १९९० मा भएको राजनैतिक परिवर्तन पछि नेपालको पर्यटन क्षेत्रले निकै फड्को मारेको छ । सरकारले हालैका बर्षहरुमा नेपालको सम्वृद्धिको आधार मध्य पर्यटनलाइ कृषि र जलस्रोत संगै प्रमुख स्तम्भको रुपमा लिदै आइरहेको छ ।

सन् २०१७ को तुलनामा ६% वृद्धिको रेकर्ड वनाउदै सन् २०१८ मा विश्वभरमा १.४ अर्व पर्यटकको आगमन भएको छ । जसवाट अमेरिकी डलर १०.७ खर्ब वरावरको आम्दानि भएको छ भने करीब ३० करोड २० लाख मानिसहरुले पर्यटन क्षेत्रमा काम पाएका छन् । सवै देशहरुमा मानिसहरुको बढ्दो आय, सजिलो र सरल भ्रमण तरिकाहरु, भ्रमण मार्फत जीवनपयोगी शिक्षा र आनन्द पनि लिन सकिने जस्ता कारणहरुले दिन दिनै पर्यटकहरुको संख्या उल्लेख्य बढ्दै गएको र जाने पनि देखिन्छ ।

नेपालमा सन् २०१८ मा ११ लाख ७३ हजार पर्यटकले भ्रमण गरेका छन् र करीब अमेरिकी डलर ७० करोड आम्दानि गरेको छ । पर्यटन क्षेत्रवाट नेपालमा अन्दाजी १० लाख व्यक्तिले (४ लाख २७ हजार प्रत्यक्ष र ५ लाख १८ हजार अप्रत्यक्ष्य) रोजगारी पाएका छन् । नेपाल सरकारले सन् २०२० लाइ भ्रमण बर्षका रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउनुका साथै पर्यटनवाट २० लाख रोजगारी सिर्जना गर्ने लक्ष लिएको छ ।

पर्यटन एक वहुआयामिक क्षेत्र हो । संसारभरका हरेक थरिका मानिसहरु वीचमा सम्पर्क हुने हुनाले पर्यटनमा लाग्ने व्यक्तिको व्यक्तित्वमा फरक प्रभाव पर्दछ । पर्यटन सम्वन्धि रोजगार वा पेशाबाट आकर्षक आर्थिक लाभ मिल्दछ । देश-देशान्तर घुम्ने मौका पर्यटन पेशा, वा रोजगारमा लागेकालाई प्रसस्त मिल्दछ । कुनै पनि मानिस पर्यटन क्षेत्रमा संलग्न भएकै माध्यामवाट विश्वको कला, संस्कृति, रहनसहन, विकाश लगाएत अन्य विविध पक्ष्यहरुमा परिचित हुन पाउदछ ।

पर्यटन क्षेत्र हरेक बर्ष निर्विवाद रुपमा वृद्धि हुदै जाने हुनाले कहिल्यै पनि समस्यामा परिहाल्नु पर्दैन । तर, पर्यटन अति संवेदनशील क्षेत्र (जस्तै भुकम्प, सुनामी, पहिरो, वाढी जस्ता प्राकृतिक प्रकोप, रोगको महामारी, नाकावन्दी, राजनीतिक उथलपुथल, आतंककारी गतिविधिहरु, सरकारी शन्की रुपमा आइरहने नियमहरु, आर्थिक मन्दी, विश्व व्यवस्थामा आइरहने उथलपुथल जस्ता विविध कारणहरुले) भएकोले जहिल्यै पनि छोटो समयको लागि ओरालो जान भने सक्दछ, र यसको लागि तयार रहनु पर्दछ ।

नेपालमा र बिदेशमा समेत गरेर पर्यटनमा विशेष अवसरहरु उपलव्ध छन् ।

ब्यापार-व्यवसाय: पर्यटनमा थुप्रै किसिमका व्यापार -व्यवसायका अवसरहरु छन् । होटल संचालन गर्ने, गेस्ट हाउस,  होमस्टे संचालन गर्ने, रेस्टुरेण्ट संचालन गर्ने, विभिन्न किसिमका साहसिक, मनोरनजनात्मक, विलासिताका गतिविधिहरु (ट्राभल, ट्रेकिङ्ग, राफ़्टिङ्ग, हिमाल आरोहण जस्ता एजेन्सी संचालन गर्ने), यातायात, संचार, लगायत अन्य सेवाहरु संचालन गर्ने, उपहार पसल संचालन गर्ने वा उत्पादन गर्ने, हस्तकलाका सामानहरु उत्पादन-बिक्रि गर्ने जस्ता अनेक व्यवसायिक क्रियाकलापहरु पर्दछन ।

स्वरोजगार: ठुला व्यवसाय संचालन गर्न नसकिने अवस्थामा स्वरोजगारको रुपमा साना-साना पर्यटकलाई सेवा दिने पसल, हस्तकला उत्पादन, विक्री, गिफ्ट उत्पादन, विक्री, स्थानिय कलामा आधारित सामान उत्पादन हरु गर्न सकिन्छ ।

रोजगार: माथि उल्लेखित पर्यटन सम्वन्धि व्यापार-व्यवसायमा रोजगारका अवसरहरु पनि प्रसस्तै हुन्छन । होटेल, गेस्ट हाउस, होम्स्टे हरुमा पर्यटकहरुलाई सेवा दिन विविध किसिमका रोजगारी उपलब्ध हुन्छन । यस्तै ट्राभल, ट्रेकिङ्ग, राफ़्टिङ्ग, हिमाल आरोहण कार्य संचालन गर्ने एजेन्सीहरुमा अनेकन प्रकारका रोजगारहरु हुन्छन ।  खेलकुद, कृषि, स्वास्थ जस्ता क्षेत्रहरु पनि अव पर्यटन संगै जोडिन पुगेका छन् । यस्तोमा विविध संघ-संस्थाहरु, संचार जगतमा पनि पर्यटन सम्वन्धि रोजगार वा स्वोरोजगारका अनगिन्ति अवसरहरु छन् ।

पर्यटनका लागि केहि आधारभूत पूर्वशर्तहरु छन् यदि तपाइँ यो क्षेत्रमा लाग्न चाहनुहुन्छ भने । सर-सफाई (आफ्नो, घर आँगन को, समाजको ) हाम्रो आफ्नै लागी पनि आबस्यक हुने भए पनि  पर्यटन क्षेत्रको लागी अति-आवस्यक र नभई नहुने पुर्व शर्त हो । पर्यटनमा अनुशासित हुनु, इमान्दार हुनु, जहिल्यै आशावादी हुनु र सकारात्मक सोच्नु , समयको अत्यन्तै कडा पालना गर्नु, सहयोगी भावनाको हुनु र अरुको सेवामा रमाउन सक्नु, आत्मविस्वासी हुनु, हँसिलो र आकर्षक व्यक्तित्व विकाश गर्नु, धैर्य हुनु जस्ता केहि नभई नहुने विशेषताहरु हुन् । यसका लागी उपलव्ध तालिम लिनु, आफुलाई अनुशासित राख्नु र सधै आफुलाई स्फुर्तिलो राखिराख्नु आवस्यक छ ।

युवाहरुको लागी नेपालमा पर्यटनकै विभिन्न विषयहरुमा उच्च शिक्ष्यासम्म पढाइ उपलव्ध छ । देश संघीय ढाँचामा गैसकेपछि पर्यटन क्षेत्रमा अरु सम्भावनाहरु बढेर गएका छन् । विदेशी मात्र नभई स्वदेशी पर्यटकहरुले पनि नेपाल चलायमान हुन थालेको छ । हाम्रो बार्पाक-सुलिकोट गाउपालिकाले पनि पर्यटनको प्रचुर सम्भावनाको समुचित उपयोग गरेर सम्ब्रिद्द बार्पाक सुलिकोट वनाउने अठोट लिएको छ । आजैदेखि पर्यटनमा पेशा, रोजगारी गर्ने र जीबनवृत्ति गर्ने सोच राख्न ढिलो गर्न हुदैन । पर्यटनमा स्वभावत: आधुनिक सुविधा सहित स्थानीय कला, संस्कृति, खानाको प्रवर्द्वन हुने हुँदा हाम्रो कला, संस्कृति, रहनसहनको जगेर्ना पनि हुन्छ । यसैले अवसरहरुको सदुपयोग गरी सम्भव भएसम्म पर्यटन मार्फत आर्थिक सम्वृद्धि हासिल गर्न, पर्यटनमा पेशा, रोजगारको खोजि र उपयोग गर्नु सवैको लागि लाभदायक छ ।

दिपक बस्ताकोटी

बार्पाक-सुलिकोट,८ जरांग ।

ताकुकाेट सेवा समाजकाे स्मारिकामा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *